झापाका अस्पतालहरुको असलीरुप : बिरामीलाई थर्काउदै, गेटबाटै फर्काउदै (भिडियो सहित)


झापा, चैत १५ । २५ फागुनमा छिमेकीको घरमा लड्दा कन्काई नगरपालिका–१ का चित्रबहादुर दर्जी (४०) चार दिनअघि अचेत भए । परिवारजनले नजिकैको क्लिनिक लगे । उसले मेची अस्पताल पठायो । तर, मेची अस्पतालले ढोकै खोलेन । अत्तालिएका आफन्त अचेत दर्जीलाई बोकेर भद्रपुरमा रहेको ओम साई पाथीभरा अस्पताल पुगे । यसले पनि भर्ना लिए । त्यसपछि उनीहरू बी एन्ड सी अस्पताल पुगे । त्यहाँ गेटबाट भित्र छिर्नै दिइएन ।कोरोनाको त्रास भन्दै यसरी अस्पतालले विरामी हेर्न छाडेपछि सर्वसाधारण उपचार पाउनबाट वञ्चित भएका छन् । ‘मेची अस्पताल पु-याउँदा यहाँ हुँदैन भन्दै झ्याप्पै ढोका थुनिदिए । त्यसपछि ओम साई पाथीभरा अस्पताल भद्रपुर लग्यौँ । त्यहाँ पनि मानेनन् । बी एन्ड सीले त झन् गेटभित्रसमेत पस्न दिएन । कराउँदै बाहिर निकाल्दिए,’ दर्जीकी श्रीमती देवीले रुँदै भनिन्, ‘अब कहाँ लैजाऊँ ?’

चित्रबहादुर दर्जी मात्र हैन, अन्य बिरामीलाई पनि झापाका निजी तथा सरकारी अस्पतालले यसरी नै फर्काउन थालेका छन् । अर्जुनधारा ११ का अजित भारतीका डेढ वर्षीय छोरा आश्विन भारती लामो समयदेखि ज्वरो आएर अस्पताल बसे । करिब एक हप्ताअघि उनी निको भएर घर पनि फर्किए । तर, फेरि केही दिनदेखि बान्ता आउने र पखाला चल्ने भएपछि परिवारले बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पु-यायो ।

डाक्टर नभएको भन्दै अस्पतालले फर्काइदियो । ‘त्यहाँबाट फर्किएपछि हामीले बी एन्ड सी लग्यौँ । त्यहाँ त झन् शाहीकालमा जस्तो खेद्यो । त्यसपछि हामी अञ्जली र मनमोहन गयौँ । त्यहाँ पनि डाक्टर नभएको भन्दै फर्काए,’ बिरामीका आफन्त कोषराज कटुवालले भने, ‘अहिले नानी गम्भीर छ । उपचार भइरहेको छैन ।’

सरकारले लकडाउन घोषणा गरेयता जिल्लाका अधिकांश अस्पतालले गेटबाटै बिरामी फर्काउने गरेका छन् । झापाका अधिकांश अस्पतालका गेट बन्द गरिएका छन् । बिरामी जाँदा सुरक्षा गार्डले भित्र प्रवेश दिँदैनन् । ‘कोरोनाको डरले अरू बिरामी पनि राख्दैनन् । अब अरू बिरामीचाहिँ मर्नू ?,’ शिवसताक्षीबाट उपचारका लागि बिर्तामोड अस्पताल आएका शिव भुजेलले भने, ‘अरूवेला बिरामी तानातान गर्दै हिँड्ने अस्पताल अहिले बिरामी पनि राख्दैनन् ।’

इमरजेन्सी चलिरहेको छ : डा. ठाकुर 

मेची अस्पतालले भने कुनै पनि बिरामीलाई नफर्काइएको दाबी गरेको छ । अस्पतालमा इमरजेन्सी सेवा सञ्चालन भइरहेको दाबी गरे । ‘कोही बिरामी फर्किएका छैनन् । इमरजेन्सी चलिरहेको छ,’ मेची अस्पताल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले भने, ‘सिरियस बिरामीको उपचार गर्छौं ।’ पूर्वमा नाम चलेको बी एन्ड सी अस्पतालले पनि कुनै बिरामी नफर्किएको दाबी गरेको छ । अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले अहिले पनि अस्पतालमा १५० भन्दा बढी बिरामी रहेको भन्दै कसैलाई नफर्काएको दाबी गरे ।

बिरामी नलिए प्रशासनले हस्तक्षेप गर्छ : सहायक प्रजिअ

झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले पछिल्लो समय यस्ता गुनासो बढेको बताए । गुनासो बढिरहेकाले संकटका वेला सहयोग गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले पत्र लेख्ने तयारी गरेको उनले जानकारी दिए । ‘हामीले सबै निजी अस्पताललाई भनेका छौँ । यो संकटका वेला तपाईंहरू माग नराखी सहयोग गर्नुहोस्,’ उनले भने, ‘अहिले हामी समन्वय गर्छौं । नमाने प्रशासनले हस्तक्षेप गर्छ, कारबाहीको प्रक्रिया अघि बढाउँछौँ ।’

हेर्नुस् भिडियो…


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपिलाको तीज गीत “मेरै घरमा बसेर दर खाउँला”
‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको प्रोमो सार्वजनिक
सुभासको ‘धन्यवाद तिमीलाई’ सार्वजनिक (भिडियोसहित)
लकडाउनकाे समयमा सिमामा खटिएका शसस्त्र प्रहरीको यस्तो बेहाल, हेर्नुहोस् भिडियाे