‘खेप’को भरमा टिकेकाहरु ! (भिडियोसहित)


झापा, पुस १९ । फुटबल खेलाडी उत्पादनका लागि पूर्व उर्भर मानिन्छ । पूर्वको समथर तराई होस् या पहाडको डाँडाकाडाँ फुटबलप्रतिको क्रेज उस्तै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘क्यालेन्डर’मा परेका गोल्डकपबाहेक गाउँशहरमा हुने त्यस्ता फुटबल प्रतियोगिताले पूर्वमा नयाँ खेलाडीहरुलाई अवसर मात्रै सिर्जना गरेको छैन व्यवसायिक रुपमै पूर्वमा फुटबल खेल्ने खेलाडीलाई बाँच्ने आधार समेत बनेको छ ।

नेपाली फुटबलमा व्यवसायिकताको कमी र नियमित रुपमा लिग नहुँदा पूर्वतिरका खेलाडीको बाँच्ने आधार मोफसलको गोल्डकप र सिमावर्ती भारतमा हुने प्रतियोगिताको ‘खेप’ हो । २ महिनाको लिगपछि धेरै खेलाडीको बाँच्ने आधार भनेको खेप हो । खेप अर्थात् खेल पारिश्रमिक ।

पूर्वको झापा, मोरङ, सुनसरी, इलामका खेलाडी खेपका भरमा चलेका छन् । विशेष गरी यी जिल्लाहरुसँगै पूर्वी पहाडी जिल्लाहरुमा हुने गोल्डकप साथै भारतको कोलकाता, असाम, पश्चिम बंगाल क्षेत्र, कालिम्पोङ, दाजिलिङ र सिक्किम लगायतका शहरमा हुने फुटबल प्रतियोगितामा खेप खेल्दै आएका छन् ।

भारत र नेपालको पूर्वी पहाडी जिल्लामा हुने प्रतियोगितामा खैल मैदान र रंगशालाको भौतिक संरचना उपयुक्त नभएपनि फुटबलप्रतिको क्रेजका कारण त्यस्ता ठाउँहरुमा समेत प्रतियोगिता सञ्चालन हुँदै आइरहेका छन् । जसका कारण स्थानीय खेलाडीहरुले अवसर मात्रै पाएका छैनन् मोफसलमा चलेका खेलाडीको परिवार धान्ने माध्यम पनि बनेको छ । ‘मैले लिग खेलेको छुईन’ सुनसरीका खेलाडी रमेश राजवंशी भन्छन्, ‘तर पनि विभिन्न क्लबबाट फुटबल खेलिरहेको छु ।’ जसले गर्दा उनलाई यसमा टिकिरहन मद्धत गरिरहेको छ ।

झन्डै ५ वर्षपछि लिग भएपनि त्यसपछि प्रतियोगिताको निरन्तरताको सम्भावना न्यून रहँदा खेप नै फुटबलमा टिक्ने आधार रहेको खेलाडीहरु बताउँछन् । खेपले आर्थिक पाटोमा मात्र समर्थन गरेको छैन, उनीहरूको खेल जीवनलाई पनि निरन्तरता दिएको झापाका खेलाडी सरोज कार्की बताउछन् । तर, साना साना प्रतियोगिताका दौरान भएका इन्जुरीले भने ठूला र प्रतिष्ठित प्रतियोगिताका लागि समस्या सृजना गर्दै आएको कतिपय खेलाडी बताउछन् ।

देशमा २ दर्जनभन्दा बढी गोल्डकप प्रतियोगिता आयोजना हुन्छन् । यो बाहेक साना र भारतमा हुने प्रतियोगिताको संख्या पनि धेरै छन् । जसमा एउटा क्लबमा देखिएको खेलाडी अर्को प्रतियोगितामा अर्को क्लबबाट खेलेको भेटिन्छ । धेरैजसो प्रतियोगिताको मिति जुध्दा यस्ता खेलाडीहरुलाई समस्या पर्ने गरेको उनीहरु बताउछन् । एन्फाले फुटबलको विकासका लागि सिमित समयमा आयोजना गरिएका गोल्डकपहरु जुधाउनु भन्दा पनि बर्ष भरिनै चलयमान बनाउनुपर्ने सुनसरीका खेलाडी निशान लिम्बुको धारणा छ ।

नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर देवेन्द्र तामाङ, झापाका कर्ण लिम्बु, योगेश गुरुङ, विशाल राई, दिलेन लोक्ताम, एञ्जल गुरुङ, निरोज बस्नेतलगायतका खेलाडीहरु फुटबलमा खेपकै कारण टिकेका छन् । यी बाहेक पूर्वमा विभिन्न स्थानमा हुने प्रतियोगितामा विभिन्न क्लबहरुबाट फुटबल खेल्ने खेलाडीहरु पनि धेरै छन् ।

मोफसलमा चलेका खेलाडीको आर्थिक उपार्जनको मुख्य स्रोत र नियमित अभ्यास नै नेपाल र भारतको विभिन्न स्थानमा हुने प्रतियोगिता बनेको छ । मोफसलमा हुने सानाठुला गोल्डकप तथा फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका साथै खेलाडीलाई आर्थिक उपार्जनको लागि सहयोग पुगेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले ‘मामा’ बताउछन् ।

विभागीय बाहेकका ’ए’ डिभिजनका क्लबहरुले प्रतियोगिता दौरान खेलाडीहरुलाई खेल पारिश्रमिकअनुसार सहभागी गराउँछन् । मोफसलको सफल क्लबको रुपमा रहेको पूर्वको झापा–११ ले समेत सबै खेलाडी अनुबन्धन गरेको छैन । यसरी क्लबहरुले खेलाडीलाई कम्तीमा एक वर्ष पनि अनुबन्धन नगर्दा वर्षभरि खेलेर बाँच्ने वातावरण बनेको छैन ।

हेर्नुस् भिडियो…


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११
फिफा विश्वकप छनोटको क्याम्पमा परेका खेलाडीको पीसीआर परीक्षण २ चरणमा हुने
कोपिलाको तीज गीत “मेरै घरमा बसेर दर खाउँला”
‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको प्रोमो सार्वजनिक