चिनियाँ टोलीद्वारा दमकमा निर्माण हुने औद्योगिक पार्कको स्थलगत अवलोकन


राजु पौडेल
झापा, पुस १३ । झापाको दमकमा स्थापना हुने भनिएको औद्योगिक पार्क निर्माणका लागि चीनीयाँ उच्च टोलीले विहिबार सो क्षेत्रको स्थलगत अवलोकन गरेको छ । चीनको ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रका उपमहासचिव लिउ रुपेङ नेतृत्वको टोलीले औद्योगिक पार्कको अवलोकन गरेको हो ।

दमक नगरपालिकाका अनुसार उक्त औद्योगिक पार्क निर्माणका लागि अवलोकन गर्न अहिलेसम्मकै उच्चस्तरीय टोली दमक आएको हो । १२ सदस्यीय चिनियाँ टोलीलाई नगरपालिका र स्थानीयबासी भव्य स्वागत गरेका थिए । दमक नगरपालिका कार्यालयका अनुसार ३ खर्व ३३ अर्व रुपैयाँको चीनीयाँ लगानीमा उक्त पार्कको निर्माण हुन लागेको छ ।

दमक नगरपालिका वडा नं १० मा २२ सय विगाह भन्दा बढी जग्गामा बन्ने भनिएको औद्योगिक पार्क निर्माणका लागि १६ सय विगाह जग्गा अधिग्रहणको क्रममा छ । उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन तयारीको क्रममा रहेको बताइएको छ । उक्त परियोजनाको निर्माण चीनीयाँ सरकारले गर्नेछ । अहिले आएको उच्चस्तरीय टोलीले अध्ययन गरेर गइसकेपछि अन्तिम सहमतिमा हस्ताक्षर हुने नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिनुभयो । ‘सम्भवतः चीनको यो अन्तिम स्थलगत अवलोकन हो’ दाहालले भन्नुभयो, ‘अब अन्तिम सहमती हुनेछ ।’

नगरपालिकाका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने उक्त औद्योगिक पार्क निर्माणका लागि सात महिनाभित्रमा शिलान्यास गरेर परियोजनाका काम सुरु हुनेछ । चीनको ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रका उपमहासचिव लिउ रुपेङले नेपालमा औद्योगिक विकासका लागि चीन लगानी गर्न लागेको बताउनुभयो । ‘यो आयोजनाले नेपाल र चीनको मित्रतालाई मात्र बढाउँदैन’ रुपेङले भन्नुभयो, ‘यसले नेपालमा उद्योग र रोजगारीको सृजना गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

आफ्नो क्षेत्रमा औद्योगिक पार्क निर्माण हुने भएपछि स्थानीय समेत खुसी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ
पर्यटकको पहिलो गन्तव्य इलाम
मन्त्रिमण्डल विस्तार गर्दै मुख्‍यमन्त्री आचार्य
पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला हुने