मेयर द्वारिका, विराट र रवि लामिछानेः को सही, को गलत ?


विमल नेपाल

व्यक्तिगत रुपमा सञ्चारकर्मी रवि लामिछाने र विराट अनुपमसँग मेरो राम्रै चिनाजानी छ । ‘रवि दाइ’सँग त सहकर्मीको रुपमा लामो समय काम गरेँ । विराट जीसँग प्रत्यक्ष सम्पर्क कम भए पनि आपसमा राम्रै परिचित छौं । बेलाबेला कुरा भएको छ ।

तर, इटहरीका मेयर द्वारिकालाल चौधरीबारे खासै थाहा छैन । सामाजिक सञ्जालमा भाइरल भएपछि मात्रै उनीबारे बुझेको हुँ । अहिले यी तीन पात्र सर्वाधिक चर्चामा छन् । तर, सवाल उनीहरुसँगको सम्बन्ध होइन ।

मेयर चौधरीले इटहरी कार्यक्षेत्र भएका पत्रकार विराटलाई ‘नाँकको डाँडी भाँच्छु’ भनेपछि दुईजना चर्चामा थिए । मंगलबार रविले चौधरीसँग टेलिभिजन शोमा टेलिफोन वार्ता गरेपछि तीनै जना चर्चामा छन् । चर्चाप्रेमी विराट मख्ख होलान् । सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेपछि रवि दाइलाई हल्का तनाव भएको होला । मेयर दबाबमा होलान् ।

चर्चाको उत्पत्ति र उत्कर्ष

केही दिनअघि पत्रकारलाई ‘लोपरिदिन्छु’ भनेदेखि नै मेयर चौधरी चर्चामा थिए । पत्रकारलाई ‘पत्रुकार’ भन्दै गाली गरेका मेयरबारे अनेक टिप्पणी भयो । कतिले ‘हक्की मेयर’ भन्दै प्रशंसा गरे । कतिले ‘पत्रकारलाई जे पायो त्यहीं भन्ने ?’ भन्दै उछितो काडे ।

‘लोपरिदिन्छु’ भनेको काण्ड सेलाउन नपाउँदै ‘नाँकको डाँडी’ काण्ड चर्चामा आयो । ‘भ्रष्टचारीलाई कालो मोसो दल्छु’ भन्दै हिँडेका मेयरले पत्रकार विराटलाई ‘मनलाग्दी लेखेको’ भन्दै ‘नाँकको डाँडी भाँच्न एक करोड रुपैयाँ छुट्याएको’ बताए ।

मेयरको उक्त धम्कीले सामाजिक सञ्जाल तातिसेकेको थियो । सामाजिक सञ्जालको भीडलाई आधार बनाएर टेलिभिजन शो चलाइरहेका रवि दाइले मेयरलाई लाइभ कार्यक्रमबाटै टेलिफोन गरे । त्यहाँ पनि मेयरले पत्रकारलाई धम्क्याउन छाडेनन् । दुबैले ‘आफूलाई सिकाउन पर्दैन’ भने । वार्ता रोचक थियो । रवि र मेयरबीच टेलिफोन वार्तामा भएको कुरा सबैलाई थाहै छ ।

त्यसपछि सामाजिक सञ्जाल झन् तात्यो । कतिले मेयरको प्रशंसा गरे, कतिले गाली । कतिले लोकप्रियताको उचाइमा पुगेका रविलाई सरापे । समग्रमा सामाजिक सञ्जाल पत्रकारमाथि खनियो । त्यो पनि रविसँग तुलना गरेर । ‘हिजो टुँडिखेलमा राखेर नेताका नाँकको डाँडी भाँच्छु’ भन्ने रविले कानूनको कुरा गर्न सुहाउँछ ? भन्दै प्रश्न गर्नेको समूह ठूलो छ ।

सही को ? गलत को ?

घटना के भयो ? एउटा पाटो हो । तर, स्थानीय सरकारका प्रमुखले पत्रकारलाई तथानाम गाली गर्दा पनि धेरै नागरिक किन पत्रकारकै विरुद्धमा छन् ? यो गहन प्रश्न हो ।

मेयर चौधरीको नियत सही वा गलत जे भए पनि शैली, प्रस्तुति र भाषा खेदजनक छ । उनलाई कारबाही हुनुपर्छ । ‘सोझोपन’ भनेर छुट दिनु हुँदैन । वा सत्तापक्षीय भएकै कारण उनलाई जबरजस्त संरक्षण गर्न नखोजियोस् ।

पत्रकार र पत्रकारिताप्रति नागरिकको दृष्टिकोण पनि विग्रँदो छ । जुनकुरालाई ‘नाँकको डाँडी’ काण्डले प्रष्ट पार्छ । अहिले पत्रकारलाई देवता बन्ने रहर जागेको छ । उनीहरु आफूलाई ‘तेस्रो ग्रहको प्राणी’ ठान्छन् ।

नेतैपिच्छे, ठेकेदारैपिच्छे, अफिसरैपिच्छेका मिडिया र पत्रकार छन् । कुन समाचार आयो भन्दा पनि कुन नेता वा व्यापारीको मिडियामा आयो ? भनेर पहिलो बुझ्नपर्ने स्थिति छ ।

पीडितलाई पीडामाथि पीडा थप्ने काम भइरहेको छ । प्रहरीको अनुसन्धान प्रभावित भइरहेको छ । समाचारकै कारण मान्छेले आत्महत्या गर्नुपर्ने स्थिति आएको छ । तर, आमसंचार माध्यमको प्रभावकारी नियमन भएको छैन । जसको मार पाठक, दर्शक र स्रोताले व्यहोरेका छन् ।

घटना एउटै हुन्छ । तर, मिडिया नै पिच्छे फरक–फरक समाचार आउँछ । पूरै उल्टो अर्थ लाग्ने गरी । जसले आमनागरिकमा अन्योल बढाएको छ । जसकारण पत्रकार र पत्रकारिताप्रति नागरिक दृष्ट्रिकोण सकारात्मक छैन ।

पत्रकारलाई पनि जहाँ, जे पनि बोल्नु परेकै छ । लेख्नु परेकै छ । कम्तीमा प्रश्न सोध्ने उत्तर सुन्ने, बिचार होइन सूचना दिने, भावना होइन यथार्थ खोज्ने जिम्मेवारीमा नरहेसम्म र दलीय झुकावका आधारमा लेखनीमा जुट्न नछाडेसम्म ‘नाको डाडी भाँच्ने’, ‘लोपर्ने’ जस्ता ‘फण्डा/धम्की’ बन्द हुने छैनन् ।

यहींबीच मिडिया काउन्सिल विधेयकबारे विवाद छ । यस्तैयस्तै घटनाबाट पाठ सिकेर व्यवहारिक विधेयक पारित होस् । कसैको रवैयाका कारण कोहीपनि पीडित हुन नपरोस् ।

                                                                                                                  – (लेखक नेपाल पत्रकार हुन्)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

‘प्रधानमन्त्रीले अधिनायकवाद र सर्वसत्तावादी बाटो रोजे’
‘संघीयता चाहिँदैन, राजतन्त्र नफर्की मुलुक बन्दैन’
यो झापा हो !
मेरी हजुरआमा…