खुलेआम घुस लिन्छन् माई नगरपालिकाका इन्जिनियर (भिडियोसहित)


(दानाबारी)इलाम, जेठ १९ । इलामको माई नगरपालिकाका सव—इन्जिनियर गोविन्द ढकाल र अशिष्टेन सव—इन्जिनियर विकास राईले स्थानीय उपभोक्ता समितीसँग खुलेआम घुस रकम लिने गरेको खुलेको छ । इन्जिनियरद्वयले स्थानीय उपभोक्ताले बाटो निमार्णको प्राविधीक स्टीमेट बनाउँदा, कामको निरीक्षण तथा अनुगमनका क्रममा खुलेआम घुस रकम लिने गरेको पाइएको छ ।

माई नगरपालिका—५ को हाङ्गखिम—खरबनी सडक खण्डको प्राविधीक स्टमेट बनाउदा नै ढकालले १० हजार रुपैयाँ खुसबापत रकम लिएका छन् । उनले आफ्ना कार्यालयका अशिष्टेन सव—इन्जिनियर राईलाई ५ हजार र उनी स्वयम्लाई ५ हजार गरी १० हजार रुपैयाँ घुस रकम असुल गरेका हुन् । उक्त सडक खण्डको कामका लागि इन्जिनियरद्वय ढकाल र राईले २५ हजार माग गरेका थिए । बाँकी रकम नदिएको उपभोक्ता समितीले निर्धारित समयमा नै काम सम्पन्न गरेपनि अनुगमनका लागि पटक—पटक बोलाउदा समेत विभिन्न बहाना गरेर टार्ने गरेका छन् । ‘स्टिीमेट तयार गर्दा नै १० हजार दिएको हुँ’ स्थानीय उपभोक्ता बालकृष्ण मगरले भने, ‘बाँकी पछि दिने भनेको थियौँ, नदिएकाले अहिलेसम्म बाटोको अनुगमन नगरेकाले हिसाब फरफारक गरेकै छैनौँ ।’

सो नगरपालिकाको ३, ५, ७ र ९ नम्बर वडा कार्यक्षेत्र रहेका ढकालले ग्रामिण क्षेत्रमा उपभोक्ता समितीले गर्ने बाटो निर्माण कार्यको प्राविधीक स्टीमेट बनाउनेदेखि अनुगमनका क्रममा विभिन्न प्राविधीक समस्या र कठिनाई देखाएर उपभोक्ता समितीसँग अवैध रकम असुल्ने गरेको पाइएको छ । सोही वडाको धोबीखोला—बुच्चेटार—रमिते—हाङ्गखिमको बाटोको अनुगमनका क्रममा समेत सव—इन्जिनियर ढकालले ५ हजार रुपैयाँ रकम लिएको स्थानीय उपभोक्ता समितीले जनाएको छ । ‘मैले २ हजार र अध्यक्ष ज्यूले ३ हजार गरेर जम्मा पाँच हजार दिएका हौँ’ उपभोक्ता समितीका सहसचिव सन्तोष राईले भने, ‘अर्को बाटोको पनि के—के बहाना गरेर काम सकिएपनि पैसा नै पाएका छैनौँ ।’

निर्माणको काम सम्पन्न गरेका ग्रामिण भेगका स्थानीय उपभोक्ता समितीलाई आर्थिक वर्ष समाप्त हुन लाग्दा बजेट फरफारक गर्नुपर्ने बाध्यता छ । तर, उनीहरुलाई पैसा नदिई बाटो अनुगमन नगरिदिने, प्राविधीक समस्या देखाएर फरफारकको कागजी प्रक्रिया अगाडी नबढाईदिने गरेको गुनासो स्थानीय उपभोक्ता लालबहादुर तामाङले बताए ।

काम सम्पन्न गरीसकेपछि पनि अनुगमन नभएपछि उपभोक्ता समितीले नगरपालिकाको उपप्रमुख तथा अनुगमन समिती संयोजक विष्णुमाया रिमाल आचार्यलाई पटकपटक जानकारी गराउँदा पनि प्राविधीकलाई चित्त बुझाएर काम गर्नु भन्ने जवाफ दिने गरेको स्थानीयको भनाई छ । हेर्नुस् भिडियो…


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अर्जुनधाराको चुरेभावर क्षेत्रमा सकस
सार्वजनिक भयो नीताले स्वर दिएको भजन (भिडियो)
इलामेली गायक मिलन बम्जन ल्याए ‘भाग्य लेख्ने मसी’ (भिडियो)