दलिय एकताका लागि शुभकामना ।


गोविन्द न्यौपाने-नेपालमा दहरु हाल सम्म करिव २ सयको संख्यामा पुग्ने अवस्थामा दलिय धु्रविकरण अत्यन्त आवश्यक नै हो । कम्तिमा अव थ्रेसहोलडका कारण पनि दलहरु एक आपसमा मिल्न वाध्यहुनुको विकल्प छैन । राजनीतिक विश्लेषकहरुको विचार र विश्लेषण अनुसार भोली फेरी एकले अर्कोलाई सिध्याउने ध्याउन्नमा नलाग्ने हो भने सरकारको स्थाइत्वको आशा गर्न सकिन्छ । अझ अगाडी वढेर नेपाली नागरिकको सम्वृद्धीका लागि सोच्ने हो भने भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । चाहने हो भने योग्यता र क्षमताको कदर गर्दै देशका महत्वपुर्ण सम्वैधानिक निकायका प्रमुखहरुको नियुक्तिमा दलिय भागवण्डालाई त्यागेर योग्यता र क्षमताका आधारमा नियुक्ति गरिन्छ ।
तर राजनीतिक दलहरुको विगतको ब्यवहार विश्लेषण गर्दा नेपाली नागरिकले विश्वास गर्न नसक्नु स्वाभाविकै हो । संसदमा १ सिट भएकाहरु रोजेर मन्त्री भएकै हुन । आफु र आफ्ना नातेदारहरुलाई विदेश भ्रमणमा लगैकै हुन । आवरणमा लोकतान्त्रिक प्रजातान्त्रिक जे भने पनि दलहरु देश निर्माणका लागि भन्दा पनि सरकार ढाल्न र वनाउनका लागि भुमिका खेलेका नै हुन । दलहरुले हिजो राजनीतिलाई पेशा र जागिरको रुपमा ब्यवहार गरेका कारण यिनै दलको ब्यवहार भोलीका दिनमा कसरी परिवर्तन हुन्छ भन्ने शंका राख्नुलाई अन्यथा भन्न सकिदैन ।

यदी स्वाभाविक रुपमा यो ध्रुविकरण अगाडी वढ्ने हो भने हिजो दलिय स्वार्थका लागि गरेका गल्तीहरुको पुनरावलोकन गरि सच्याउनु पर्ने हुन्छ । हिजो समावेशी समानुपातिक ब्यवस्था भनिए पनि मोटो रकम तिरेर साँसद भए , समानुपातिक कोटामा आफु हारेर आफ्ना श्रीमतिहरुलाई संसदमा पुर्याए । निर्वाचन र अन्य प्रक्रियावाट प्रतिनिधि हुन नसक्ने देशका लव्धप्रतिष्ठितहरुको नियूक्तिको राखिएको २६ स्थानमा समेत दलका कार्यकर्ताहरु नै मनोनित भए । शक्तिपृथकिरणको मान्यतालाई धज्जी उडाउँदै न्यायाधिस जस्तो महत्वपुर्ण पदहरु समेत भागवण्डा लगाए । राजनीतिक दलको अस्तित्व नभए जस्तो सवोच्चका प्रधानन्यायाधिस खिलराज रेग्मीलाई वेञ्चवाट नै उठाएर प्रधानमन्त्री वनाए। के के गरे विगत सम्झने हो भने निरासा मात्र आउँछ । तर आज ति सवै गलत कुरालाई दलहरुले महसुस गरि अगाडी वढ्ने हो भने भोलीका दिनहरुमा आशा गर्न सकिन्छ ।

सुधारको पाटो
भारतको एक प्रान्त जस्तो यति सानो देशमा ७ प्रदेश वनाइएको छ , हिजो ६०१ सभासदको संख्या आलोचित भएको अवस्थामा आज ७ प्रदेश समेतको संख्या जोड्दा १ हजार भन्दा पनि वढी सदस्यहरु हुने पक्का छ । यस्तो अवस्थामा करदाताहरुले तिरेका करवाट प्राप्त राजश्व ति सदस्यहरुलाई भुक्तानी गर्नु नेपाली नागरिकका लागि अन्याय हुने छ । राज्य लोककल्याण कारी भएको खण्डमा प्रतिफल आम मानिसमा न्यायोचित तरिकाले वितरण हुनेछ । यसका लागि आफ्नो जीविकोपार्जनका लागि राजनीतिक पदको आवश्यकता पर्दैन । आम मानिस सन्तुष्ठ हुने अवस्थामा पदिय भुमिका स्वत गौण हुन जान्छ । सामाजिक रुपान्तरणका लागि भिड्को आवश्यकता पर्दैन । अझ साँच्चै भन्ने हो भने नेपाल जस्तो सानो देशमा स्थानीय तह र केन्द्र भए कुनै काम खाँचो हुने छैन । भोलीका दिनमा दलहरु यस विषयमा सकारात्मक भए प्रदेश खारेज गर्न सक्छन । नेपालको अवस्था सुधारमा वाधक भ्रष्टाचार नै हो भन्ने धेरै वहस भएपनि त्यसलाई रोक्नका लागि कुनै प्रभावकारी पहल गरेको पाइदैन । भ्रष्टाचार नियन्त्रण गर्नका लागि कडा कानुन कार्यान्वयन गर्न सके देशको उन्नतीका लागि रोइलो गाइरहनु पर्दैन ।

ध्रुविकरण प्रतिको अनावश्यक आशंका
हुनत नेपालका नेताहरु के वोल्दछन भन्ने विषयमा विमर्श गर्नु समयको वर्वादी मात्र हो । केही दिन पहिला माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाली काँग्रेसले १० सिट भन्दा माथिमा विजय प्राप्त गर्दैन भन्ने विचार ब्यक्त गरे । केही पछी नेपाली काँग्रेसका नेता तथा प्रधानमन्त्री शेर वहादुर देउवाले निर्वाचन पछी कम्युनिष्टहरुलाई वत्ती वालेर खोज्नुपर्ने वताए । कम्युनिष्टहरुले जिते नेपाली जनताले रुने दिन पनि सकिने वताए । नेपलाी काँग्रेसका नेता मिन विश्वकर्माले कम्यृनिष्ट शासन भनेको (डिजेज) रोग हो भन्ने समेत सार्वजनिक संचार माध्यमवाट ब्यक्त गरे ।

यि भनाइमा कुनै सत्यता देखिदैन । मानिसको ब्यवहार परिवर्तन कठिन र लामो प्रक्रिया हो । ७ साल देखि नै तिनै नेताहरु नेपालको शासन प्रशासनमा हालीमुहाली गरेका कारण भोली निर्वाचन पछी पनि यिनै आउनेमा शंका छैन । यि पात्रहरुको पात्रता यति सजिलै परिवर्तन हुने छैन । वास्तवमा भन्दा आफुलाई लोकतान्त्रिक भन्नेहरु न लोकताँन्त्रीक छन नत कम्युनिष्ट भन्ने हरु नै कम्युनिष्ट छन । छन त केवल सत्ताखोर प्रवृतिका छन । सत्ता भन्दा वाहिर वस्ने र निष्टाको राजनीति गर्ने नेपाल मजदुर किसान पार्टिका नरायणमान विजुच्छे वाहेका कोही देखिएका छैनन । लोकताँन्त्रिक भन्नेहरु लोकताँन्त्रिक भएका भए सर्वोच्चको फैसला शिरोपर गर्दथे । फैसलाकै आधारमा न्यायाधिसलाई महाभियोग लगाउदैनथे । कम्युनिष्ट भएका भए १७ हजारको वलिदानी पछी सवै एजेण्डा भुलेर आफु र आफ्ना आसेपासेका लागि मात्र ध्यान केन्दित गर्ने थिएनन । घाइते ,वेपत्ता र शहिद परिवारहरुका वारेमा चिन्तित हुने थिए । त्यसर्थ नत लोकतान्त्रि भन्नेहरुको सरकार भए लोकतन्त्रको सुनिस्चित हुन्छ , नत कम्युनिष्ट हरुको सरकार वने समाजवाद प्राप्ती हुन्छ । यि त सवै आम मानिसका लागि झुक्याउन वोल्ने विषय हुन ।महत्वपुर्ण कुरा आचरण हो हो । आचरणको कुरा गर्ने हो भने विनोद चौधरी जस्ता पैसावाल समानुपातिमा सिफारिस भइसके , दिपक मनाङ्गेले टिकट पाए । यिनै पात्र वाट अर्को पात्रताको आशा गर्नु भनेको तितेपाती रोपेर तेजपत्ताको सुगन्ध खोज्नु मात्र हो । नेपाल र नेपालीका लागि आजको आवश्यकता भनेको भ्रष्टाचारको उन्मुलन हो । यदि कोही भ्रष्ट नहुने हो भने नेपाल सम्वृद्ध हुनका लागि एक दशक पनि लाग्ने छैन ।

भनिन्छ इतिहास गुरु हो तर गुरुवाट सिक्नका लागि पनि असल शिष्य चाहिन्छ । निरासा पाल्न आवश्यक छैन ,इतिहास दुःखद भए पनि भविश्य सुःखद हुन सक्छ । इतिहासवाट शिक्षा लिएर अगाडी वढ्ने हो भने भविश्य सुन्दर हुन सक्छ । आखिर यिनै नेताको नेतृत्वमा परिवर्तन भएको हो भने गर्ने पनि यिनले नै हो । हालका लागि सकारात्मक विचार सहित दलहरुको एकताको शुभकामना ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो
आजको राशिफल : कार्तिक २ गते, आइतबार
आजको राशिफल : असोज २४ गते, शनिबार
मन्त्री भुषालद्वारा पत्रकार सिग्देलको ‘एकदिन’ बिमोचन