नापी कार्यालय झापाको घुस लेनदेनमा अख्तियारको अनुसन्धान
झापा, फागुन १० । नापी कार्यालय झापा अन्र्तगतको २ नम्बर नापी टोली कार्यालय गरामनीमा भएको घुस लेनदेनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
कार्यालयका सर्वेक्षक अनिल शाह र अमिन मानबहादुर चौधरीले सेवाग्राहीसँग घुसरकम लिदै गर्दा रंगेहात फेला परेको समाचार सार्वजनिक भएपछि अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले घुस लेनदेन बारे चासो देखाउदै प्रारम्भिक अनुसन्धान सुरु गरेको हो । झापा बिर्तामोड—४ का रञ्जितमान राईको बिर्तामोड—९ स्थित कित्ता नम्बर १५२६ र १४६८ को जग्गा कित्ता एकीकृत गर्न किर्ताकाट् नखुलेकाले तत्काल गर्न नमिल्ने तर चार हजार आफूहरुलाई दिएपछि सबै मिलाईदिने भनेर नापी सर्वेक्षक शाहले रकम माग गरेका थिए । कार्यालयका अमिन चौधरी र सर्वेक्षक शाहले सेवाग्राहीसँग कानुनीरुपमा गर्न मिल्ने काम नमिल्ने भन्दै चार हजार रुपैयाँ घुसरकम लिएको समाचार प्रकाशन प्रशारण भएको थियो ।
त्यसपश्चात् अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले घुस लिने कर्मचारी अमिन चौधरी, सर्वेक्षक शाहबारे लिखित जवाफ माग गर्दै अनुसन्धान थालेको हो । घुस लेनदेनको विषयमा प्रमाणका आधारमा प्रतिवेदन तयार पार्न अख्तियारले सेवाग्राही राईसँग सोधपुछ गरिसकेको छ भने कार्यालय प्रमुख सुखमान केदेमलाई समेत पत्राचार गरी घटनाबारे लिखित जानकारी पत्र माग गर्ने तयारी भएको अख्तियारको कार्यालय इटहरीले जनाएको छ ।
यसैबीच खुस बापत लिएको चार हजार रुपैयाँ समेत अमिन चौधरी र सर्वेक्षक शाहले गल्ती स्वीकार गर्दै सेवाग्राही राईलाई रकम फिता गरेका छन् । यस विषयमा नापी कार्यालय झापाका प्रमुख डिल्लीराज भण्डारीले अवैध रकम लेनदेनको घटना आफुलाई जानकारीमा आएको र आफु जिल्ला बाहिर रहेकाले अब आवश्यक छानबिन प्रक्रिया अघि बढाउने समेत बताएका छन् ।
घुस लेनदेनको भिडियो हेर्न तलको लिंकमा जानुहोस्…