अन्तिम प्रशिक्षणका लागि महिला फुटबल टोली झापामा, साफ च्याम्पियनसिप जित्ने लक्ष्य (फोटोफिचर सहित)


झापा, माघ २० । भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय टोली यतिबेला झापामा छ । अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरेर काठमाडौँमा मात्र सिमीत गरिदै आएको बन्द प्रशिक्षण झापामा भइरहँदा नेपालमा नै आयोजना हुने साफ च्याम्पियनसिपको पूर्वतयारीका लागि समेत महत्वपूर्ण मानिएको छ ।

आगामी डिसेम्बर ९ अर्थात् माघ २६ देखि भारतको उडिसामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली झापामा बन्द प्रशिक्षणका क्रममा छ । आगामी मंगलबार झापाबाटै भारत प्रस्थान गर्ने नेपाली टोली अहिले भद्रपुरस्थित मेची रंगशालामा अन्तिम प्रशिक्षणमा व्यस्त छ ।

उडिसाको मौसम र विराटनगरमा फागुन अन्तिम साता हुने साफ च्याम्यिनसिपको तयारीका लागि पनि झापा उपयुक्त भएकोले बन्द प्रशिक्षण झापामा राखिएको प्रशिक्षक हरि खड्काले बताए । ‘काठमाडौँमा नेचुरल ग्राउण्डको कमी छ’ खड्काले भने, ‘नेचुरल ग्राउण्डको अनुभव लिन साथै उडिसा र विराटनगर पनि झापासँग मिल्दोजुल्दो वातावरण भएकाले ट्रेनिङका लागि यहाँ रोजेका हौँ ।’ उनले विगतका कमजोरीलाई सच्याएर भारतमा खेल्ने र त्यहाँको नतिजालाई साफ च्याम्पियनसिपसम्म जारी राख्ने बताए ।

भारतीय फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिका अनुसार २६ गते उद्घाटन खेलमा इरान र भारत भिड्दैछन् । नेपालले पनि त्यसै दिन पहिलो खेल म्यानमारसँग खेल्दैछ । सुरुमा नेपाल, भारत श्रीलंका र म्यानमार सहभागी हुने भनिए पनि अन्तिम समयमा आएर प्रतियोगितामा श्रीलंका सहभागी भएको छैन । श्रीलंकाको ठाउँमा इरानलाई सहभागिता गराइएको हो । नेपालले दोस्रो खेल २८ गते भारतसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा फागुन १ गते इरानसँग भिड्दैछ ।

साफ च्याम्पियनिसपको तयारीमा रहेको नेपाली महिला टिमले दाबेदार रहेको भारतलाई पराजित गर्ने लक्ष्य लिएको फरवार्ड सावित्रा भण्डारीले बताइन् । ‘अनफ¥चुनेट्ली ओलम्पिक क्वालिफिकेसन राउण्डमा हामीले भारतसँग बराबारी खेल्नुप¥यो’ उनले भनिन्, ‘यो पटक मनोबल उच्च छ, हामी जित्छौँ ।’

नेपाली टोलीमा गोलकिपर एन्जिला तेम्वाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ, डिफेन्डर हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बू, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी तथा अनिता केसी छन् ।

राउण्डरोबिन लिग अनुसार प्रतियोगिताको शीर्ष २ टिमले फागुन पाँच गते उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालमा नै हुने साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाली टोलीलाई यो प्रतियोगिता निक्कै महत्वपूर्ण हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै (फोटोफिचर)
झापामा छठ पुजा : छतमा कुण्ड, जलाशयमा ब्रतालु न्यून(फोटोफिचर)
खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल
आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)